
असार- ३२
काठमाडौं । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाहित छोरीले पनि समान अंश पाउने फैसला सुनाएको छ । विवाहित छोरीले के कस्तो अवस्थामा अंश पाउने र के कस्तो अवस्थामा पैतृक सम्पत्तिबाट अंश नपाउने भन्ने विवादमा सर्वोच्चले मंगलबार फैसला सुनाएको हो ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा चलेको मुद्दामा नयाँ संविधान जारी भएपछि विवाह भएको भए विवाहित छोरीले पनि पैतृक सम्पत्तिबाट समान अंश पाउने सम्बन्धमा सबै न्यायाधीश एकमत भएका छन् । तर नयाँ संविधान जारी हुनु अगाडि विवाह भएको छोरीको हकमा पैतृक सम्पत्तिबाट अंश पाउने कि नपाउने भन्ने सम्बन्धमा भने न्यायाधीशहरूको राय बाझिएको छ ।
बृहत पूर्ण इजलासमा चलेको मुद्दामा न्यायाधीशहरू मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानले साबिकको मुलुकी ऐनको अंशबन्डा महलको १क मा विवाहित छोरीले अंश नपाउने कुरा रहेको भन्दै उक्त ऐन संशोधन हुनु अगाडि विवाह भएमा अंश नपाउने राय दिएका थिए । तर मुलुकी ऐनको अंशबन्डा महलको १क २०७२ असोज १४ गतेको संशोधनबाट हटेको थियो, जसका कारण त्यसपछि विवाह गर्ने छोरीले पनि माइतीको पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्ने कुरामा भने सबै न्यायाधीशहरू एकमत भएका थिए ।