माघ -१२
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन अध्यक्ष मोहम्मद जलालुदिन मंसुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
साबिक भतौडा गाविस वडा नम्बर २ को कित्ता नम्बर २८८ र २९० को जग्गा खरिद बिक्री गर्दा गलत लिखत तयार गरेको तथा घर/बाटो भएकोमा नभएको भनी थैली रकम कम राखी राजश्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आयोगले तत्कालीन वडाध्यक्ष मन्सुरसहित वडा सचिव र रघुप्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र जग्गा खरिदकर्ता हिरालालप्रसादविरुद्ध मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष र वडा सचिवविरुद्ध ६ लाख ९४ हजार ६५१ रुपैयाँ, बिक्रेता मस्नुरविरुद्ध ३ लाख ७७ हजार र खरिदकर्ता प्रसादविरुद्ध ३ लाख १७ हजार ६५१ रुपैयाँ बिगो कायम गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।

