चैत-२
एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ताको प्रस्तावलाई इरानले ठाडै अस्वीकार गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले वार्ताको नाममा धोका दिएको र छलफल भइरहेकै समयमा आक्रमण गर्ने रणनीति अपनाएको आरोप लगाउँदै तत्काल कुनै पनि वार्ताका लागि इरान इच्छुक नभएको बताएका छन।
सीबीएसको ‘फेस द नेशन’ कार्यक्रमलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री अराघचीले अमेरिकासँग संवाद गर्ने कुनै ठोस कारण र सुखद अनुभव नरहेको स्पष्ट पारेका हुन्। उनले विगतलाई स्मरण गर्दै भने, “हामीले अमेरिकीहरूसँग कुरा गरिरहेकै समयमा उनीहरूले हामीमाथि आक्रमण गर्ने निर्णय गरेका थिए।
त्यसैले अहिले उनीहरूसँग वार्ता गर्नुको कुनै अर्थ छैन।”
अराघचीले इरान हाल स्थिर र सैन्य रूपमा बलियो अवस्थामा रहेको दाबी गर्दै आफूहरू केवल आफ्ना जनताको रक्षामा केन्द्रित रहेको बताए। यसअघि शनिबार राष्ट्रपति ट्रम्पले अमेरिका इरानसँग सम्झौता गर्न चाहेको तर वर्तमान सर्तहरूमा आफू तयार नभएको बताएका थिए। ट्रम्पको उक्त अडानलाई काउन्टर दिँदै अराघचीले इरानले कहिल्यै पनि युद्धविराम वा वार्ताका लागि आग्रह नगरेको बताएका छन ।

