बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध,
भदौ- १७
काठमाडौं - अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात ठप्प भएको छ ।
बाढी पहिरोका कारण धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ । बेनीघाट रोराङ–७ स्थित कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, बेनीघाट रोराङ–१० को ज्वाडु खोला र थाक्रे–२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ ।
पासाङ ल्हामु सडक खण्डको सिटारमा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, विदुर–लाच्याङ सडक र टोखा–छहरे सडक खण्ड पनि पहिरो र बाढीका कारण प्रभावित भएका छन् । रसुवाको उत्तरगया–५ खाल्टेमा बाढी आउँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको छ ।

