दक्षिण अष्ट्रेलियामा भीषण आँधी,
असोज-२६
अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र तीव्र हावाले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ। घटनापछि १०० भन्दा बढी व्यक्तिले आपत्कालीन सहायता मागेका छन्।
राज्यका विभिन्न भागमा आइतबार दिउँसोदेखि सुरु भएको आँधी आइतबार राति राजधानी एडिलेडसम्म पुगेको थियो। तीव्र हावा र ठूलो असिनासहित आएको आँधीले जनजीवन प्रभावित बनाएको थियो।
राज्य आपत्कालीन सेवा ९एसईएस० का अनुसार आइतबार दिउँसोदेखि सोमबारसम्म सहायता माग्दै १०० भन्दा बढी फोन आएका छन्। तीमध्ये अधिकांश फोन रुख ढलेका घटनासँग सम्बन्धित थिए।
आँधीका कारण आइतबार दिउँसो राज्यभर ७ हजारभन्दा बढी विद्युत् उपभोक्ता प्रभावित भएका थिए। एसए पावर नेटवर्क्सका अनुसार सोमबार दिउँसोसम्म पनि राज्यका विभिन्न स्थानमा १५ वटा विद्युत् अवरोध कायम थिए, जसबाट १ हजार ८७२ ग्राहक प्रभावित भएका थिए।
तीमध्ये एडिलेडको दक्षिणपूर्वी क्षेत्रमा रहेको विद्युत् अवरोध सबैभन्दा ठूलो थियो। उक्त अवरोधका कारण ९६६ ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए। एसए पावर नेटवर्क्सले प्रभावित क्षेत्रमा सोमबार रातिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने जनाएको थियो।

