फ्रान्समा हिंसात्मक प्रदर्शन: शान्ति सुव्यवस्था कायम राख्न राष्ट्रपति म्याक्रोनको आह्वान,
कार्तिक- २
एजेन्सी - महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा फ्रान्समा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोले देशवासीलाई शान्ति र सुव्यवस्था कायम राख्न आह्वान गरेका छन्।
शनिबार आयोजित विशाल प्रदर्शन भिडन्त, तोडफोड र लुटपाटमा परिणत हुनुका साथै आइतबार पनि राजधानी पेरिससहितका सहरहरूमा झडप जारी रहेपछि राष्ट्रपतिको यो भनाइ आएको हो। एलिसी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोले प्रदर्शनकारीलाई स्थिति थप नबढाउन चेतावनी दिँदै भने, “हामी सबैले यतिवेला आक्रोश र लज्जाबोध गरिरहेका छौँ।”
इन्धनको मूल्यवृद्धि, जीवनयापनको बढ्दो लागत र विद्यालयलगायत सार्वजनिक सेवाको दुरावस्थाविरुद्ध देशैभर करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएका थिए। म्याक्रोले नागरिकका “जायज माग” र “सार्वजनिक सम्पत्ति तोडफोड तथा लुटपाट गर्ने तत्त्व” बीच स्पष्ट फरक छुट्ट्याउनुपर्ने बताए।
फ्रान्सको गृह मन्त्रालयका अनुसार हालसम्म करिब २ हजार ४ सय जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। राष्ट्रपति म्याक्रोले पछिल्लो हिंसाको बचाउ कसैले गर्न नसक्ने उल्लेख गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

