चालु आर्थिक वर्षको ६ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु,
कार्तिक-४
काठमाडौं- चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका विपद्का घटनामा ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको मृत्यु भएको छ। भोटेकोसी बाढीको घटना भने यो तथ्यांकमा समावेश छैन।
प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ। उक्त अवधिमा १ हजार ६ सय २२ वटा सर्पदंशका घटना दर्ता भएका छन्, जसमा १ सय १० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २५ जना घाइते भएका छन्। विपद्का कुल घाइते २ हजार ४ सय ३३ जनामध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशका कारण घाइते भएका हुन्।
बाढी र पहिरोका ४ सय ६० घटनामा ४१ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। चट्याङका ३ सय ३३ घटनामा ३६ जनाको ज्यान गएको छ भने २ सय ४ जना घाइते भएका छन्। यसबाहेक, १ हजार ५ सय ७ स्थानमा भएका आगलागीमा २९ जनाको मृत्यु भएको छ। हिमाली भेगमा लेक लाग्ने ७२ घटनामा २६ जनाले ज्यान गुमाएका छन्।

