नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रै-राष्ट्रिय तथ्यांक कार्यालय,
कार्तिक-१४
काठमाडौँ – नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रै रहेको एक अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ विषयक प्रतिवेदनले नेपालमा ९० प्रतिशत जनसंख्याको घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा पाउने भने ४७.५ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ।
राष्ट्रिय जनगणना तथा नेपाल बहुसूचक सर्वेक्षणमा आधारित प्रतिवेदनले खानेपानीको पहुँच विस्तार भए पनि गुणस्तर र सुरक्षित आपूर्तिमा ठूलो चुनौती रहेको देखाएको हो।
त्यस्तै, सुधारिएको सरसफाइ सुविधा प्रयोग गर्ने जनसंख्या ९२.८ प्रतिशत रहे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवामा पहुँच भएका परिवारको हिस्सा ३९.९ प्रतिशत मात्रै छ।

