स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ सहित भारतीय नागरिक पक्राउ,
कार्तिक -१८
रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ सहित एक भारतीय नागरिक र एक जना स्थानीय व्यवसायी पक्राउ परेका छन्।
मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम मा लुका लुकाएर ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट १४ लाख ६४ हजार बराबरको रुपैयाँ बरामद गरेको रौतहट प्रहरीले जनाएको छ।
रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो अन्दाजी ३ः३० बजेको समयमा ईशनाथ नगरपालिका–४ महुलिया कालि मन्दिरस्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले जाँच गरेको थियो। प्रहरी सहायक निरीक्षक बिन्दा महतोको नेतृत्वमा खटिएको टोलीले संकास्पद अवस्थामा रहेको उक्त मोटरसाइकल जाँच गर्दा चालकको झोला र मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको स्रोत नखुलेको ३० लाख नेपाली रुपैयाँ र एक थान स्मार्ट मोबाइल फेला पारेको थियो।
पक्राउ गरिएका मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको थियो।

