नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ गतेदेखि ३० गतेसम्म  हुने

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ गतेदेखि ३० गतेसम्म हुने

जेठ ७, काठमाडौँ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यही जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले भने,  ‘डिस्प्लेको काम भइरहेको छ । १४ गतेसम्म पूरा गर्छौँ । यस वर्षको प्रदर्शनी प्रतिष्ठानसँगै नेपाल कला परिषद्, बबरमहलमा पनि हुनेछ ।’ उनले प्रदर्शनीको अवधिमा १० भन्दा बढी विषयगत छलफल तथा अन्तरक्रिया पनि हुने जानकारी दिए ।

प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले विगतमा वैशाख २ गते गर्ने गरिएको प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिए ।

कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिएता पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने सोच रहेको बताए । उनले नेपालको रैथाने कलालाई अझै बाहिर ल्याउन नसकिएको बताउँदै हिजोआज कलाको शिल्प र प्रस्तुति शैलीमा दिनानुदिन प्रगति भइरहेको धारणा राखे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार हुन लागेको यस प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिनेछ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो ।

जसअन्तर्गत आधुनिक चित्रकला विधामा २३६ जना कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति रहेका छन् ।

यसैगरी परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति,  वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १६ जना कलाकारका १६ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति,क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकार ७ कलाकृति रहेका छन् ।

लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा राखिनेछ ।  

यसवर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिनेछ । यसको राशि जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदान गरिनेछ । यसको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरिनेछ भने राष्टिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिनेछ ।

यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

सासामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । 

२१ May २०२३ , ७:३३pm
हाम्रो आवाज