नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

EnglishEN
गेटा आँखा अस्पताललाई विश्वविद्यालय माग्दै सुदूरपश्चिम ठप्प

गेटा आँखा अस्पताललाई विश्वविद्यालय माग्दै सुदूरपश्चिम ठप्प

जेठ २८, धनगढी । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो ।

समितिका संयोजक लोकराज पाण्डेले आजको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता रहेको बताए । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ ।

यसैबीच यहाँको शैक्षिक सङ्घ संस्था, कल कारखाना, यातायातलगायत बिहानैदेखि चल्न सकेका छैनन् । यसैबीच सुदूरपश्चिमस्थित संयुक्त यातायात व्यवस्थापन मूल समितिले बन्दमा आफ्नो ऐक्यबद्धता जनाउँदै यातायातका साधन नचल्ने जानकारी गराएको छ ।

मूल समितिका संयोजक पदमराज सापकोटाले एक विज्ञप्ति नै जारी गर्दै सो कुरा जनाएको हो । सङ्घर्ष समितिले केही सातादेखि आन्दोलनको घोषणा गरेको हो ।सरकार विरुद्ध प्रदर्शन गर्दै आएको सङ्घर्ष समितिले आज आमहड्ताल गरेको हो ।

सङ्घर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ । सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि स्थानीयले सङ्घर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् ।

यसैबीच सङ्घर्ष समितिको संयोजक लोकराज पाण्डेले राज्यले सुदूरपश्चिमलाई ठग्दै आएको बताए । कुनै पनि राष्ट्रियको गौरवको योजना यहाँ सञ्चालन हुन नसकेको बताउँदै उनले पछिल्लो समय विश्वविद्यालय बनाउने निर्णय गरे पनि प्रतिष्ठान बनाउने भनेर हाल सुदूरपश्चिमबासीलाई गुमराहामा पारेको बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ । 

यसैबीच धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्धकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो ।

११ Jun २०२३ , ९:३७am
हाम्रो आवाज