नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

EnglishEN
एम्बुलेन्स सञ्चालन  व्यवस्थित बनाउन छानबिन समिति गठन

एम्बुलेन्स सञ्चालन व्यवस्थित बनाउन छानबिन समिति गठन

पुस २२, काभ्रेपलाञ्चोक(रासस) । बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक चरणमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ । सरोकारवाला सम्मिलित बैठकले पहिलो चरणमा जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिद्वारा सञ्चालित सम्पूर्ण एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने भएको हो ।

जिल्लामा जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले तीन हप्ताभित्र प्रतिवेदन समितिलाई हस्तान्तरण गर्ने समयसीमा तोकिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । यस्तै एम्बुलेन्सलाई मापदण्डअनुसार सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को उफदफा १, को (छ) बमोजिम दुई महिनाको अवधि दिई सूचना प्रकाशित गर्ने र आवश्यक समन्वयका लागि स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय तथा प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याइएका एम्बुलेन्समा जिपिएस जडान गरी ‘स्तरोन्नति मापदण्ड’बमोजिम सञ्चालन गर्न अनुरोध गर्ने जनाइएको छ । प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमार्फत एम्बुलेन्स चालक र त्यसमा रहने स्वास्थ्यकर्मीको प्रशिक्षण एवं तालिम दिइने व्यवस्था मिलाइने योजना बनाइएको प्रजिअ शर्माले बताइन् ।

यसअघि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विसं २०७७ जेठदेखि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा केन्द्र रहनेगरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा सञ्चालन हुने सम्पूर्ण एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गरी ‘एकीकृत एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याइएको थियो । धुलिखेल अस्पतालका डा सानुकृष्ण श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मकरूपमा सञ्चालन गरिएको थियो । काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको जनाइयो । बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको थियो । 



 

 

७ Jan २०२४ , ९:४०am
हाम्रो आवाज