नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ : मन्त्री भण्डारी ।

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ : मन्त्री भण्डारी ।

 

काठमाडौँ, १२ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताउनुभएको छ ।

खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताउनुभएको हो ।

भूकम्पले पु¥याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु”, उहाँले भन्नुभयो । उहाँले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उहाँको भनाइ थियो ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले विसं २०७२ को भूकम्पको स्मरण गराउनका लागि फोटो प्रदर्शन गरेर राम्रो कामको सुरुवात भएको बताउनुभयो । उहाँले नेपाल भूकम्पको अत्यन्त जोखिमयुक्त मुलुक भएकाले यहाँ बन्ने भौतिक संरचना निर्माणमा भूकम्पीय जोखिम कम हुने खालको बनाउनुपर्ने उल्लेख गर्नुभयो । सचिव राउतले विसं २०७२ को भूकम्पले मानवीय, भौतिक र आर्थिक क्षति पुगेको स्मरण गर्नुभयो ।

 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भूकम्पका बारेमा आम जनतालाई जानकारी दिने उदेश्यले विभागले विभिन्न तहका पाठ्यक्रम निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भूकम्पबाट हुने क्षति कम गर्नका लागि खानी विभागले ‘विल्डिङ कोर्ड’ निर्माण गरे पनि कतिपय स्थानीय तहले उक्त कोर्ड लागू नगर्दा समस्या भएको बताउनुभयो ।

     

विभागका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले यसबाट जोखिमका लागि पक्की संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।

     

सम्बाहिका समाज नेपालका अध्यक्ष एवं सञ्चारकर्मी चाँदनी हमालले विसं २०७२ को भूकम्पको स्मरणका लागि फोटो प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यमले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।

     

विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए ।

      

पछिल्लो समय विसं २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा एक सय ५६ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका ८० हजार घरमा क्षति पु¥याएको थियो ।

२४ Apr २०२४ , २:१६pm
हाम्रो आवाज