आज इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व 'बकरईद' हर्षोल्लासका साथ मनाइँदै,
जेष्ठ-१४
बाँके-मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड ईदुल अजहा अर्थात बकर ईद हर्षोल्लासका साथ आज देशभर मनाइँदै छ ।
देशभर विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मास्जिदहरुमा भेलाभै सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गर्दै बकर ईद पर्व मनाइँदैछ। ईदुल अजहा अर्थात बकरा ईद को नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आ—आफ्नो घर गई जायज मानिएका जनावरहरुलाई आफ्नो क्षमता अनुसारको कुरबानी अर्थात् बली दिने गर्दछन । यस दिनलाई इस्लाममा समर्पण, त्याग र बलिदानको रुपमा पनि लिने गरिन्छ।
मुस्लिम धर्मको पवित्र धार्मिक ग्रन्थ कुरान अनुसार अल्लाहले आफ्नो पैगम्ब (इशदूत) इब्राहिमसँग सबै भन्दा प्यारो वस्तु कुरबानीका लागि मागे पछि इशदूत पैगम्बर ईब्राहिमले आफ्नो प्यारो छोरा ईस्माईल लाई बली स्वरुप कुरबानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल को सट्टा दुम्बा जनावर अर्थात् भेडाको कुरवानी गरेको धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार आजको दिनलाई मुस्लिम समुदायले सोही कुरबानीको दिनलाई स्मरण गर्दै अल्लाहलाई खुसी पार्न पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगाहरुको कुर्बानी बली दिने धार्मिक मान्यता रहेको छ ।
अल्लाहले दुमबाको कुरवानी लिएर पैगम्बर इब्राहिमका छोरा ईस्माईल लाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगाहरुको बली दिएर मुस्लिमसमुदायले ईदुल अजहा अर्थात बकर ईद मनाउने गरेका छन्।
तीन दिनसम्म गरिने कुरबानी अर्थात बलीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीब तथा आर्थिक रूपमा अशक्त असहायहरु जसको कुरबानी गर्ने सामर्थ्य हुदैन उनिहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई इस्टमित्रहरुमा बाडने र तेस्रो भाग मासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् । इस्लाम धर्मावलम्वीहरु इस्लामी अन्तिम महिनाको तीन दिन १०, ११ र १२ तारिखको दिन ३ दिन सम्म कुर्बानी गर्ने गर्दछन । आज बकरीईदको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ।

