आज देशभर गणतन्त्र दिवस मनाइँदै,
जेठ-१५
काठमाडौँ -देशभर विभिन्न कार्यक्रम गरी आज गणतन्त्र दिवस मनाइँदै छ । यसै अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
सधैँको जस्तो गणतन्त्र दिवसका दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम नभएको बताइएको छ। प्रधानमन्त्रीको ठाउँमा राष्ट्रपतिलाई सम्बोधनका लागि पत्राचार गरिएको स्रोतले जनाएको छ।
नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदै छ।
जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। सोही अवसरमा प्रत्येक वर्ष जेठ महिनाको १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।

