गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु,
असार- १०
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ ।
इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले रिसको आवेगमा आएर चिर्पटले हिर्काउँदा श्रीमती ३७ वर्षीया मुना कुमालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले घटना मंगलबार राति भएको बताए ।
मादक पदार्थ सेवन गरी यमबहादुरले दाउराको चिर्पट प्रहार गरेर मुनालाई गम्भीर घाइते बनाएका थिए ।
त्यसपछि मुनालाई उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिएकोमा अस्पतालले मृत घोषणा गरेको एसपी बोगटीले जानकारी दिए । कुटपिट गर्ने यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

