सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सशस्त्र प्रहरीको अपिल,
साउन- १५
काठमाडौं - सुनसरीको देवानगञ्जमा भएको घटनाले मधेशका विभिन्न जिल्लामा उत्पन्न द्वन्दात्मक परिस्थिति तर्फ ध्यानाकर्षण गराउँदै सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन अपिल गरेको छ।
आज शुक्रबार जारी सार्वजनिक अनुरोधमार्फत सशस्त्र प्रहरीले समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगले आफ्नो परिचालन भइरहेको जनाएको छ। नेपाली समाजले सदियौँदेखि आपसी संवाद, समझदारी, सहिष्णुता र सहअस्तित्वका माध्यमबाट जटिल समस्यासमेत समाधान गर्दै आएको उल्लेख गर्दै यस परम्परालाई कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।

